विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेनजी पुस्ता आफ्नो पार्टीप्रति आकर्षित भइरहेको दाबी गरेका छन् ।
सोमबार (मंसिर १५) विराटनगरमा आयोजित ‘एकता सन्देश सभा’मा सम्बोधन गर्दै उनले नयाँ पार्टी पुराना तथा नयाँ दुवै पुस्ताका लागि समान अवसरसहित खुला रहेको स्पष्ट पारे ।
नेपालले भने, “जनताले समानता महसुस गर्न सकून्, हक–अधिकार सुरक्षित होस्, इज्जत–प्रतिष्ठा जोगियोस्—यिनै लक्ष्यसहित नयाँ पार्टी गठन गरिएको हो ।”
विराटनगरमै २०२८ सालमा बी।कम। उत्तीर्ण गरेको स्मरण गर्दै उनले मनमोहन अधिकारीसहित तीनवटा कम्युनिस्ट धारबीच भएको एकताले त्यतिबेला ठूलो राजनीतिक तरंग पैदा गरेको अनुभव सुनाए । पटक–पटक सरकार सञ्चालनमा सहभागी भई जनहितका सकारात्मक काम गर्न सफल भएकोमा उनले गर्व व्यक्त गरे ।
कोशी प्रदेशमा बामपन्थी नेतृत्वले समय–समयमा राम्रो काम गरे पनि त्यसको पर्याप्त प्रचार–प्रसार नभएको उल्लेख गर्दै नेपालले उपलब्धिहरू जनतासमक्ष प्रभावकारी रूपमा पु-याउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार नयाँ पार्टी कुनै आकस्मिक निर्णय नभई कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्र जोगाउन गरिएको योजनाबद्ध पहल हो ।
नेपालले राष्ट्रको स्वाभिमान, “हामी नेपाली हौं” भन्ने पहिचान, तथा संविधानको संरक्षण सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस