काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पार्टीका केही नेता तथा सदस्यले स्वेच्छाले उम्मेदवारी घोषणा गर्न थालेको भन्दै आपत्ति जनाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट आधिकारिक रूपरेखा र निर्धारित प्रक्रियाअनुसार मात्रै हुने स्पष्ट गर्दै अनधिकृत अभिव्यक्ती र प्रचार गतिविधि नगर्न चेतावनी दिएको छ।
विज्ञप्तिअनुसार हालसम्म रुपन्देही क्षेत्र नं. ३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अरू कुनै पनि क्षेत्रमा पार्टीले उम्मेदवार टुङ्गो नलगाएको स्पष्ट गरिएको छ।
रास्वपाले पार्टीको निर्णय नभइसकेका अवस्थामा भ्रामक, अपुष्ट वा अफवाह फैलाउने खालका वक्तव्य, प्रचार–प्रसार तथा गतिविधि रोक्न सबै संरचना, सदस्य र शुभेच्छुकलाई निर्देश गरेको छ।
पार्टीले उम्मेदवार छनोट प्रक्रियामा पूर्ण विश्वास राखी अनुशासन र सामूहिक निर्णयको सम्मान गर्दै अघि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस