विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधिहरु छनोट भएका छन् ।
७ जना प्रतिनिधि पाएको सो क्षेत्रबाट दुई जना महिला भने सर्वसम्मत चयन भएका थिए ।
४ जना खुल्ला र एक जना युवा प्रतिनिधिका लागि भएको निर्वाचनमा ऋषिकेश पोखरेल, लिलाबल्लभ अधिकारी, सुशील बुढाथोकी र श्याम राजवंशी निर्वाचित भएका छन् । युवातर्फ करण ठाकुर निर्वाचित भए ।
महिलामा रञ्जना अधिकारी र गीता बानियाँ निर्विरोध निर्वाचित भएका छन् ।
यो क्षेत्रमा केपी शर्मा ओली र इश्वर पोखरेल समूहले छुट्टाछुट्टै समूह निर्माण गरेर चुनावमा सहभागी भएका थिए । क्षेत्र नम्बर २ का ७ प्रतिनिधिमध्ये चार जना ओली समूह र तीन जना पोखरेल समूहका रहेका छन् ।
यस क्षेत्रका निवर्तमान सांसदसमेत रहेको ऋषिकेश पोखरेलसहित श्याम राजवंशी र शुशील बुढाथोकी र करण ठाकुर ओली समूहका हुन् । प्रदेशसभा सदस्यसमेत रहेका लिलाबल्लभ अधिकारीसहित दुई महिला पोखरेल समूहमा रहेको सो पक्षको दाबी छ । अधिकारीकै पहलमा महिलाहरुलाई निर्विरोध गराइएको थियो ।
खुल्लातर्फ ऋषिकेशका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलले स्वतन्त्र उम्मेदवार दिँदा ओली समूहका शंकर थापा १७ मतले पराजित भए ।
अर्का उम्मेदवार एमालेका स्थानीय युवा नेता विष्णु पोखरेललाई फिर्ता गराउन लागि परेका ऋषिकेशले आफ्नै पूर्वस्वकीय मिलाउन नसक्दा ओली समूहले एउटा प्रतिनिधि गुमाएको उनीमाथि आरोप छ । ‘उहाँ (ऋषिकेश पोखरेल) ले विष्णु पोखरेललाई फिर्ता गराउन माथिल्लो तहका नेताहरुको गुहार मागेको भन्ने कुरा आइरहेको छ,’ एमालेका एक स्थानीय नेताले भने, ‘तर, उहाँले आफैले स्वकीय राखेको आफ्नो विश्वासिलो मान्छेलाई उम्मेदवारी फिर्ता गराउन चाहनुभएन । उहाँको नियत नै हामीले बुझ्न सकिरहका छैनौँ ।’
पोखरेलले निर्विरोध भएका महिलाहरुलाई आफ्नो पक्षको दाबी गर्दै आएपनि उक्त कुराहरु नेताहरुनै विश्वस्त छैनन् ।
प्रतिक्रिया दिनुहोस