काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने जानकारी दिएका छन् ।
मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार तीन बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् ।
परमादेशको प्रति प्राप्त भएपछि आफुले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनले बताए । त्यस्तै सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको जिकिर गरे । मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सवै दलले सहयोग गर्ने दावी गर्दै विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो रहेको धारणा राखे ।
उनले बिभिन्न दलसंग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताए । बिगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यस पटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस