धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदैछन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आज विश्वासको मत लिन लागेको हुन् ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन्।
सोमबार साँझ सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मुख्यमन्त्री यादव तत्काल प्रदेशसभा बैठक आह्वान गर्न बाध्य भएका हुन्। अदालतले संविधानको व्यवस्था अनुसार लोकतान्त्रिक वैधानिकता परीक्षणका लागि मुख्यमन्त्रीलाई तत्काल बहुमत प्रमाणित गर्न निर्देशन दिएको थियो।
मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकार टिकाउन ५४ मत आवश्यक छ। हाल एमालेसँग २५ सांसद रहेकामा एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा उभिएको देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेकाले राजनीतिक गणित जटिल बनेको छ।
यसअघिको विवादित प्रक्रियामा एमालेले प्रदेश प्रमुख र सभामुखको भूमिकाको सहयोगमा संविधानको धारा १६८(३) बमोजिम सरकार गठन गरेको थियो। सो प्रक्रिया ‘असंवैधानिक’ भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेपछि अदालतले मुख्यमन्त्री यादवको वैधानिकता परीक्षण गर्न परमादेश जारी गरेको हो।
विश्वासको मत सुरक्षित गर्न मुख्यमन्त्री यादवलाई आवश्यक संख्या जुट्ने–नजुट्नेबारे प्रदेश राजनीतिक रूपले तातेको छ। आजको मतदानले प्रदेश सरकारको दिशा र नेतृत्व दुवै निर्धारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस