काठमाडौं । आसन्न निर्वाचनका तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
बैठकमा सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन्। सहभागी दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेका छन्। यस्तै निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पनि उपस्थित रहने रावलले बताए।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचन नजिकिएको अवस्थामा आजको बैठकले आवश्यक तालमेल, भूमिका स्पष्टता र व्यवस्थापन पक्षमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस