जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन आज तय गरिएको छ। प्रदेश प्रमुखले शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेसँगै सात दलीय गठबन्धन आन्तरिक सहमतिका लागि छलफलमा जुटेको छ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत १७ मंसिरमा राजीनामा दिएका थिए। त्यसपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम बहुमत जुटाउन सक्ने सदस्यलाई सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आव्हान गरेका थिए।
यसअघिको सरकार धारा १६८(३) अनुसार गठित थियो। यादवले कात्तिक २४ मा पानस होटेलमा शपथ लिएका थिए तर निर्धारित समयमा विश्वासको मत लिन असफल भएपछि उनी पदबाट हटे।
नयाँ सरकार गठनका विषयमा बिहीबार सात दलीय गठबन्धन नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच आठ घण्टा लामो छलफल भयो। गठबन्धनभित्र नेतृत्वबारे अन्तिम टुंगो अझै पूर्ण रूपमा खुलेको छैन।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवले सात दलबीच सहमति भइसकेको दाबी गर्दै शुक्रबार दिउँसो २ बजेतिर दाबी पेस गर्ने बताएका छन्। तर छलफलमा सहभागी एक सांसदका अनुसार उम्मेदवारको नाम अन्तिम रूपमा टुंग्याउन आज पुनः बैठक बस्ने सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस