काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ भने प्रदेशमा नेपाली कांग्रेसले पहिलो पटक मुख्यमन्त्री पाएको हो ।
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसअघिका मुख्यमन्त्री एमालेका सरोज यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटलमा शपथ गराएको भन्दै आलोचना भएको थियो ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश गरेपछि उनले मुख्यमन्त्री बनेको २६ औं दिनमा राजीनामा दिएका थिए ।
मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दलको समर्थन छ ।
मुख्यमन्त्री नियुक्त भएपछि यादवले आफु प्रदेशको पाचौ मुख्यमन्त्री भएकाले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामलाई सच्चाउदै अघि बढ्ने बताए । मुख्यमन्त्री हेरफेरका लागि भएका गतिविधिले जनतामा छाएको निराशालाई चिर्ने उनले बताए ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले बुधबार सर्वोच्चको परमादेशअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएसंगै अब यादवले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस