काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद बिघटन गरेर संसदीय व्यवस्थामाथिको प्रहार गरेको बताएका छन् ।
संसद सेवा दिवसका अवसरमा संघीय संसद सचिवालय आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते संसद भवनमा आक्रमण गरि ध्वस्त पार्ने काम भएको र भाद्र २७ गते संसद्लाई नै विघटन गर्नुको सोझो सान्दर्भिकता नरहेको भन्दै संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए ।
पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृष्य बन्देज लगाउने प्रयास गरिहेको उनले बताए ।
सभामुख घिमिरेले संसद् सरकारको अधिनमा रहने कुनै एउटा शाखा नभएको भन्दै स्वायत्त व्यवस्थापिकामाथि आँच आउने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत समेत गराए । उनले संसद कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए राज्यले असफल हुने बताए ।
संसद बिघटनको मुद्दामा अदालतले समयमा नै न्यायनिरुपण गर्ने उनको विश्वास छ । उनले राजनीतिक उतारचढावकाबीच संसद सचिवालयका कर्मचारीहरुले निष्पक्ष रुपमा आफ्नो पेशागत धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस