काठमाडौँ - नेकपा एमालेको ११ औं महाधिवेशनको मतदानको समय नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली मात्र होइन, उनको वरिपरि बसेर पार्टीलाई गलत नीति र नेतृत्वमा लैजाने नेताहरु माथि पनि गम्भीर असन्तुष्टी प्रकट हुन् थालेको छ । तीमध्ये सबैभन्दा धेरै निशानामा परेका छन्—महासचिव शंकर पोखरेल।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङबाट पराजित भएपनि शंकर पोखरेल पार्टीभित्र शक्तिकेन्द्रमा रहिरहे। चुनाव हारे पनि ओलीको सबैभन्दा नजिकको सल्लाहकार बनेर तत्कालिन अवस्थाको बालुवाटारदेखि बालकोटसम्मको हैकम जमाउने अनि गलत सल्लाह दिएर पार्टीलाई जनताबाट टाढा बनाउन भूमिका खेलेको आरोप महाधिवेशन प्रतिनिधिहरुले उनीमाथि लगाउन थालेको छन् ।
एमालेका नेताहरूका अनुसार अध्यक्ष ओलीलाई वास्तविक अवस्थाको जानकारी नगराई गुमराहमा राख्ने, सीमित घेराबाट निर्णय गर्ने र अध्यक्ष तथा प्रधानमन्त्रीलाई अलोकप्रिय निर्णय गर्न बाध्य बनाउने मुख्य जिम्मेवार पात्र महासचिव पोखरेल नै भएको र उनकै कारण जनताबाट एमाले टाढा हुँदै अलोकप्रियताको खाडलमा फस्दै गएको दाबी नेताहरूले गर्न थालेका छन्।
सोमबार महाधिवेशन स्थलमा भेटिएका ओली प्यानलकै नेताहरूले समेत पोखरेलप्रति तीव्र असन्तुष्टि पोखेका छन्। उनीहरूको आरोप छ—ओली बिग्रनुको मुख्य कारण शंकर पोखरेल नेतृत्वको ‘किचेन क्याबिनेट’ हो। पोखरेलसँगै उपमहासचिवका उम्मेदवार विष्णु रिमाल र सचिव पदका उम्मेदवारहरू भानुभक्त ढकाल तथा डा. राजन भट्टराईमाथि पनि पार्टीलाई गलत दिशामा डोर्याएको आरोप लागेको छ।
नवौं महाधिवेशनमा उपमहासचिव पदमा पराजित शंकर पोखरेललाई दशौं महाधिवेशनमा अध्यक्ष ओलीले महासचिव बनाएका थिए। तर प्रतिनिधिहरू भन्छन्—त्यो निर्णय नै आज एमाले संकटमा पर्नुको एउटा प्रमुख कारण बन्यो। संगठन मजबुत बनाउनेभन्दा गुट व्यवस्थापन, शक्ति केन्द्रको पुजा र फरक मत र आवाज दबाउने काम बढी भयो भन्ने मुख्य आरोप पोखरेलमाथि छ ।
दिनभर प्रतिनिधिहरूसँगको छलफलमा महासचिव पोखरेलको पक्षमा माहोल कमजोर देखिएको छ। टिम ओलीभित्रैबाट ‘अब पोखरेलले पार्टी हाँक्न सक्दैनन्’ भन्ने आवाज खुलेर सुनिन थालेको छ।
आजको उम्मेदवारी दर्ताले पनि महासचिव पदमा सहज जितको बाटो पोखरेलका लागि छैन भन्ने संकेत गरेको छ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच हुँदैछ।
यता, ओली प्यानलले सबै पदमा जित निकाल्ने सम्भावना पनि कमजोर देखिँन थालेको छ। ओलीकै निकटस्थहरु अन्तिम समयमा आएर ओलीसंग रुष्ट देखिन थालेपछि एमाले महाधिवेशन थप रोचक बन्ने सम्भावना देखिएको हो ।
ओली इतर समूहबाट उपमहासचिव पदका उमेद्वार योगेश भट्टराई सचिव पदका उम्मेदवारहरु गोकुल बास्कोटा र बिनोद ढकाल त्यस्तै साझा उम्मेदवार अग्नि खरेल बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन्।
लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरेको एमालेको ११औँ महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र होइन, गलत पात्र र प्रवृत्तिको राजनीतिक मूल्यांकन गर्ने ऐतिहासिक मञ्चसमेत हो। प्रतिनिधिहरूले दिने मतले एमालेको भविष्य मात्र होइन, आगामी निर्वाचनमा जनताले पार्टीलाई कुन स्थानमा राख्लान् भन्ने प्रश्न र अघिल्लो निर्वाचनमा लोकप्रिय मतमा पहिलो बनेको पार्टीले देशलाई कुन दिशामा अघि बढाउँछ भन्ने विषयको पनि जवाफ दिनेछ। त्यसैले, प्रतिनिधिहरूले आफ्नो मताधिकारको विवेकपूर्ण, जिम्मेवार र सही सदुपयोग गर्नुपर्ने बेला आएको छ।
प्रतिक्रिया दिनुहोस