काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहश नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद बिघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुष्साहश नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।
देशको असहज अवस्थालाई हेरेर अन्तरिम सरकार गठनका लागि आफुहरुले सहजीकरण गरेको उनको भनाइ छ । केहि अहंकारी र दम्भीहरुले धम्कीको भाषा बोल्ने गरेको भन्दै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न नभए नेकपा चूप लागेर नबस्ने स्पष्ट पारे ।
निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेको उल्लेख गर्दै उनले केही तत्वले त्यसलाई प्रभावित पार्ने प्रयास गरिरहेको धारणा राखे । उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले एक भएर देशको चूनौति सामना गर्न आफुहरु तयार भएको भन्दै जनताले आगामी निर्वाचनमा विश्वास गर्ने बताए । जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा, अग्निपरीक्षा सुरु हुने उनको भनाइ छ ।
उनले जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौं भन्ने पुष्टि गर्नैका लागि भएपनि एक पटक मौका दिन आग्रह गरे ।
सह–संयोजक नेपालले युवाहरुले राखेका मुद्दाहरुलाई अघि बढाउनका लागि पार्टीमा जेनजी पुस्तालाई पार्टीमा भित्राउँदै छलफल गरिरहेको जानकारी दिए । आफुहरुको बिचारलाई जनतामाझ सम्प्रेषण गर्ने अभियान निरन्तर चल्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस