२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ : सहसंयोजक नेपाल

शनिवार , पौष ५, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन् ।

नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा आज यहाँ उनले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताए ।

सहसंयोजक नेपालले भने, “हामीले विगतमा खेलेको भूमिकाको मूल्याङ्कन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्वीकार्न हामी तयार छौँ ।”

उनले आसन्न निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिएको खण्डमा आफ्नो पार्टीले जनअपेक्षा पूरा गर्ने विश्वास दिलाए । उनले भने, “जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्नेछौँ । हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ । आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ ।”

जेनजी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएका उनले जिकिर गरे ।

“त्यसका लागि हामीले तत्कालीन सरकारका प्रमुखलाई मागपत्र बुझाएका छौँ । सुशासनको पक्षमा आवाज बुलन्द गरेका छौँ”, सहसंयोजक नेपालले भने, “त्यसकारण आज जेनजी पुस्ताका साथीहरू नेकपामा समाहित भइरहनुभएको छ, नेकपामाथि गरेको त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौँ ।”

नेकपाका नेता राजेन्द्र श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुको विकल्प नभएको जिकिर गर्दै संविधान संशोधनमार्फत जनताको अपेक्षा पूरा गर्नका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।

नेत्री जयपुरी घर्तीले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई कुल्चेर मुलुकलाई प्रतिगमनतर्फ फर्काउने प्रयास नेकपाले सफल हुन नदिने बताइन् । जेनजी प्रतिनिधि एवं विद्यार्थी नेता भूमिराज अधिकारीले जेनजी पुस्ताको आवाज नेकपाले नै सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जनवादी कलाकारले नेपालको राजनीतिक परिवर्तन, जनताको आर्थिक, सामाजिक रुपान्तरणमा नेकपाले विगतदेखि खेल्दै आएको भूमिका र आगामी कार्यदिशासम्बन्धी गीतसङ्गीत प्रस्तुत गरेका थिए । सभाअघि नेकपाले काठमाडौँका विभिन्न चोकदेखि र्याली निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट