काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट विजय कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । सुस्ता-३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो नेपाल पार्टीका सस्थापक केन्द्रीय सदस्य हुन् ।
उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएसँगै पार्टी कार्यसमितिमा नरहने बताएका कँडेल चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् । आफूले पार्टीबाट टिकट पाउने पक्कापक्की भइसकेपछि उम्मेदवारी घोषणा गरेको उनले बताए । उम्मेदवारी घोषणा गर्दै युवा व्यवसायी कँडेलले देशको अर्थतन्त्र र कूटनीतिलगायतका विषयमा सुधारका लागि आफू चुनावी मैदानमा उत्रने निर्णय लिएको बताउँछन् ।
'विगतमा निर्वाचित नेताहरूले जनताको प्रतिनिधि भएको बिर्सेर व्यक्तिगत स्वार्थमा लागेका कारण देश र जनताले दुःख पाए । त्यसैले हामीजस्ता व्यक्तिहरू राजनीतिमा होमिन बाध्य भएका हौँ,' कँडेल भन्छन् ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका कँडेल केही वर्षको अस्ट्रेलिया बसाइपछि स्वदेश फर्किएका हुन् । नेपाल फर्केलगत्तै व्यवसाय सुरु गरेका कँडेलका हाल काठमाडौं र चितवनमा गरी आधा दर्जन 'हाइजेनिक मिट सेन्टर' व्यवसाय सञ्चालनमा छन ।
यसबाहेक उनी एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म, होटल रेस्टुरेन्ट लगायतका व्यवसायमा संलग्न छन् । कँडेल युवालाई व्यवसायीमा जोड्न, व्यावसायिक क्षेत्रमा परिवर्तन ल्याउन राजनीतिमा आएको बताउँछन् । 'देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरी देश विकासका लागि समग्र युवाहरूको प्रतिनिधित्वका लागि उम्मेदवारी घोषणा गरेको हुँ,' उनी भन्छन् ।
यसअघि उनले काठमाडौंलाई धुलोरहित बनाउन 'जाग्यो नेपाल' अभियानको नेतृत्व गरेका थिए । २०७९ को चुनावमा कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए ।
यस्ता छन् एजेण्डा :
युवा दुर्व्यसन होइन, सशक्तिकरण
सीमा तस्करी होइन, अवसर
जनता चुसाइ होइन, स्तरोन्नति
युवा विदेश होइन, क्षमतावान्
आवासविहीनलाई आवास, खेत–खेतमा बिजुली
प्रतिक्रिया दिनुहोस