२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सहमतिको प्रयास विफल भएपछि कांग्रेस विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया अघि बढाउँदै

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया आजदेखि अघि बढाइँदैछ । विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच रातभर चलेको वार्ता असफल भएपछि निर्वाचन कार्यक्रम यथावत् रूपमा अघि बढाउने निर्णय गरिएको हो ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत गर्ने निष्कर्षमा विशेष महाधिवेशन पक्ष पुगेको हो ।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले अन्तिम समयसम्म पनि वार्ताको ढोका खुला राखिएको भए पनि निर्वाचन तालिका स्थगित नहुने स्पष्ट पारे । उनले भने, “संस्थापन पक्षबाट वार्ताको प्रयास भइरहेको जानकारी आएको छ । हामी त्यसलाई सम्मान गर्छौँ, तर सहमति नभए हाम्रो निर्वाचन कार्यक्रम अघि बढ्छ ।”

पोखरेलले मंगलबार राति विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत सहमति जुट्न नसके निर्वाचनमार्फत नै नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए ।

उनका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति देउवा नेतृत्व छोड्न इच्छुक नदेखिएकाले त्यो प्रस्ताव विशेष महाधिवेशन पक्षका लागि स्वीकार्य नभएको हो ।

पोखरेलले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्दै पार्टी र व्यक्तिगत जीवनका अनुभव लेखनमा केन्द्रित हुनुपर्ने धारणा समेत राखेका छन् । उनका अनुसार अब विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया नै अन्तिम विकल्प बनेको छ ।

यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो ।

यसैबीच विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाका तयारीलाई तीव्र बनाएका छन् । आज बिहान पनि वार्ताको सम्भावना खुला राख्दै नयाँ निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढाइने जनाइएको छ ।

केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि आज बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्म समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट