काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको बताएकी छन् ।
बुधबार सिंहदरबारमा आयोजित सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास समेत व्यक्त गरिन् ।
नेपालका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गर्नुपर्ने उनले बताइन् ।
उनले स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँने भएकाले यसको महत्व धेरै रहेको धारणा राखिन् ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । कार्यक्रममा मन्त्रीहरु, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरु, विभागीय प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस