२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

बालेन शाहले भनेः सुरक्षित नेपाल निर्माण इमानदार नेतृत्वबाट मात्र सम्भव छ

शुक्रवार , माघ २, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो अनुभव स्मरण गर्दै शाहले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको उल्लेख गरेका छन् । काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको र त्यसपछि गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएको उनले लेखेका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो विनाशकारी दिन नदोहोरियोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।

नेपालका विभिन्न भूगोलमा काम गर्दा एउटा स्पष्ट निष्कर्षमा पुगेको उल्लेख गर्दै शाहले नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देश केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र विकास गर्न नसकिने बताएका छन् । भौगोलिक बनोटसँगै विविध समाजलाई सँगसँगै उकास्न समग्र दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ । राष्ट्रको विकास भनेको भूगोल र जनताको समानान्तर विकास र ती दुवैलाई जोड्ने बलियो आधार निर्माण गर्नु भएको उनले उल्लेख गरेका छन् ।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिकता र आधुनिकताको सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य रहेको भन्दै शाहले यही बुझाइका आधारमा भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको बताएका छन् । अध्ययनपछि सुविधा सम्पन्न देशमा काम गर्ने अवसर भए पनि देश फर्किने निर्णय गरेको उनले उल्लेख गरेका छन् ।

नागरिकको विश्वासका कारण काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा भाषाभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम नागरिकको सुविधाका लागि प्रभावकारी काम गर्न सकिन्छ भन्ने उदाहरण महानगरले स्थापित गरेको बताए । पारदर्शी प्रणाली, संरचनागत सुधार र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवाको सुरुवात महानगरबाट भएको र अब ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने समय आएको उनको भनाइ छ ।

शाहले नेपालको विकास भनेको सडक, भवन र ठूला संरचनामा मात्र सीमित नभएको उल्लेख गर्दै सुरक्षित संरचना निर्माण, देशको आवश्यकता र जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण निर्माण गर्नु नै विकास भएको बताए । संस्थागत विकास कागजमा सीमित नभई हरेक नागरिकले अनुभूत गर्न पाउनुपर्नेमा उनले जोड दिएका छन् ।

स्ट्रक्चरल इन्जिनियरको रूपमा आफ्नो निष्कर्ष प्रस्तुत गर्दै उनले अब देशलाई अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने उद्देश्यसहित राजनीतिमा आएको स्पष्ट पारेका छन् ।

उनका अनुसार नीति यस्तो बन्नुपर्छ जसले संकट आउनुअघि नै तयारी गरोस्, संरचना यस्तो बन्नुपर्छ जसले विपद् सहन सकोस् र शासन प्रणाली यस्तो बनोस् जसले जनताको विश्वास जितोस् । यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट