काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेको चर्चा छ। केहीबेरमा राजीनामा दिएर आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा रहेको बताइएको छ।
रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाइने जनाइएको छ। उम्मेदवार टुंगो लगाएपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम रहेको स्रोतको दाबी छ।
बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइन्छ। सोही क्षेत्रका लागि रास्वपाले सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।
इन्जिनियरिङ विषय अध्ययन गरेका तथा र्यापरका रूपमा पनि परिचित बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। जेन–जी आन्दोलनपछि उनी रास्वपामा प्रवेश गरेका थिए।
यसअघि गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै सातबुँदे सम्झौता गरेको सार्वजनिक गरिएको थियो।
प्रतिक्रिया दिनुहोस