काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सम्पन्न भएको छ। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार प्रत्यक्षतर्फको निर्वाचन प्रणाली अन्तर्गत हालसम्म कुल २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये महिला उम्मेदवार ३३६ (११%) र पुरुष २ हजार ५८९ (८८%) रहेका छन्।
देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देही–२ र रुपन्देही–३ मा सबैभन्दा बढी ३५/३५ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने मुस्ताङमा सबैभन्दा कम आठ जनाको उम्मेदवारी परेको छ। अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएका क्षेत्रबाट १३८ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन कार्यक्रमअनुसार बाँकी कार्यहरू पनि समयमै सम्पन्न हुनेछन्। मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय राखिएको छ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी र मनोनयनपत्रको जाँचबुझ तथा निर्णय गरी माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।
यसपटकको निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। मतदानका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस