२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचन नहुने भन्ने शंका समाप्त भयाे, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य छ : उपमहासचिव भट्टराई

बिहिवार , माघ ८, २०८२

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन नहुने भन्ने शंका गर्ने कुनै ठाउँ नरहेको बताएका छन् ।

नेकपा एमाले विराटनगर कमिटीको बिहिबार सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले पनि पूर्ण तयारीका साथ चुनावमा होमिइसकेको उल्लेख गर्दै उनले बाँकी दिनहरूमा तीव्र रफ्तारमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार यो निर्वाचन समयअनुसार हुनुपर्ने निर्वाचन भने होइन । संविधानअनुसार २०८४ मंसिरमा हुनुपर्ने चुनाव प्रतिकूल राजनीतिक परिस्थितिका कारण अहिले हुन लागेको हो । “यो निर्वाचन कुनै राजनीतिक दल, देश वा संविधानले चाहेको अवस्था होइन,” उनले भने, “कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको पनि होइन । विशिष्ट राजनीतिक घटनाक्रमपछि देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन यो निर्वाचन अपरिहार्य बनेको हो ।”

भट्टराईले यस निर्वाचनको महत्व विगतका निर्वाचनभन्दा फरक रहेको उल्लेख गरे । २०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको स्मरण गराउँदै उनले २०७४ र २०७९ दुवै निर्वाचनमा एमालेले तीव्र आर्थिक विकासको एउटै नारा बोकेको बताए ।

उनले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै पटक–पटक राजनीतिक क्रान्तिमाथि धावा बोलिने गरेको बताए । २००७ सालको क्रान्तिपछि २०१७ सालमा कू, २०४६ सालको जनआन्दोलनपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको महत्वाकांक्षाबाट लोकतन्त्र र व्यवस्थामाथि कू भएको उल्लेख गरे । २०६२÷०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया अघि बढे पनि त्यो दीर्घकालीन हुन नसकेको उनको भनाइ छ ।

“अहिले फेरि हाम्रो क्रान्तिमाथि, संविधानमाथि र प्राप्त उपलब्धिमाथि आक्रमण भएको छ,” भट्टराईले भने, “किस्ता–किस्तामा राजनीतिक क्रान्तिमाथि धावा बोल्ने शक्तिहरूलाई समाप्त गर्दै एकमुष्ट रूपमा क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।”

उनले चुनौतीका घडीमा सधैं एमालेले देश र लोकतन्त्रको रक्षा गर्दै आएको दाबी गरे । “नेकपा एमाले नेपाली माटोमा उम्रिएको पार्टी हो । यसको बिउ, मल र संस्कृति सबै नेपाली हुन्,” उनले भने, “अहिले च्याउसरी उम्रिएका केही पार्टीहरूको बिउ र मल कहाँको हो भन्ने शंका छ ।”

भट्टराईले एमाले लड्नुपर्ने बेला लड्ने र जोडिनुपर्ने बेला जोडिन जान्ने पार्टी भएको बताए । “बाह्य शत्रुसँग लड्नुअघि पार्टीभित्र एकता आवश्यक छ,” उनले भने, “त्यो एकता एमालेमा छ र हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट