काठमाडौं। नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै आगामी निर्वाचनमा होमिने तयारी गरेको छ। यससम्बन्धी निर्णय शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भमा कांग्रेसले पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी प्रतिस्पर्धामा उत्रन लागेको हो। यसअघि पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठे पनि निर्णय हुन सकेको थिएन।
विशेष महाधिवेशनमार्फत थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गर्ने निर्णयमा कांग्रेस पुगेको हो। थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ नारासहित प्रचार अभियानसमेत सुरु भइसकेको छ। टिकट वितरणमा ढिलाइका कारण वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम छ।
तीन दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा रहेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको छ।
विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको देउवा पक्ष निर्वाचन आयोग र सर्वोच्च अदालत पुगे पनि अन्तरिम आदेश नआएपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमिति पहिलोपटक पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेको हो।
प्रतिक्रिया दिनुहोस