काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा नेता इन्द्र भुसाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका भुसाल काठमाडौं–४ क्षेत्रमा समाजसेवी र संगठनात्मक नेताका रूपमा परिचित छन्।

भुसालले आफ्नो राजनीतिक यात्रा चाबहिलस्थित पशुपति क्याम्पसबाट सुरु गरेका हुन्। २०५९ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनी २०६२ सालमा पशुपति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सह–सचिव र २०६५ सालमा उपसभापति पदमा निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिमै रहँदा उनले शैक्षिक सुधार, विद्यार्थी हकहित र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।

उपत्यकाको विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट मूलधारको राजनीतिमा आएका भुसाल अखिल ९क्रान्तिकारी० को केन्द्रीय सदस्य, सचिव तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। पछिल्लो समय उनी साविक माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहँदै पार्टी संगठन सुदृढीकरणमा सक्रिय थिए।

काठमाडौं–४ बाट उम्मेदवारी दिएसँगै भुसालले युवा, श्रमिक, विद्यार्थी तथा आम नागरिकका जनजीविकाका समस्यालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्। उनले शिक्षा, रोजगारी, सहरी पूर्वाधार, ढल व्यवस्थापन र डुबान नियन्त्रणजस्ता मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन्।

काठमाडौं–४ क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लगातार चुनाव जित्दै आएको क्षेत्रका रूपमा परिचित छ। यस क्षेत्रबाट भुसालको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक र चासोपूर्ण बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस