२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

बिहिवार , माघ १५, २०८२

वालिङ (स्याङ्जा) । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो ।

सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । स्याङ्जाका एकसय ९९ मतदानस्थलमध्ये सामान्य ७२ वटा, संवेदनशील ७१ वटा र अति संवेदनशील ५६ वटा रहेका छन् ।“सडक तथा यातायातको पहुँच, सुरक्षा अवस्था, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, विगतको निर्वाचनमा भएका गतिविधिलाई आधार मानेर मतदानस्थलको बैठकबाट सूची तयार भएको हो” उनले भने, “मतदानस्थलको संवेदनशीलताका आधारमा सुरक्षा योजना बनाइने छ ।”

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुई वटै क्षेत्रका विभिन्न राजनीतिक दल, सम्बद्ध उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रतिबद्धता जनाएका उनले बताए । मतदानस्थलको संवेदनशीलताका आधारमा आवश्यक सुरक्षा योजना बनाउनका लागि जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समितिसहित निर्वाचन अधिकृतको संयुक्त टोलीले जिल्लाका मतदानस्थलको स्थलगत अध्ययन तथा अवलोकन गरिरहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एकसय ९९ मतदानस्थल रहेका छन् । जिल्लामा तीन सय २२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनमा एकसय ९९ मतदानस्थल रहेको थियो, भने मतदान केन्द्र तीनसय २० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालय.स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए ।

विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । स्याङ्जामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट