रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
मंगलबार बिहान भएको दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको स्कुल बस र लु३त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेमध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । उपचारपछि ४ जना विद्यार्थी डिस्चार्ज भई घर फर्किसकेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार बिहानपख बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस