सिन्धुली । सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट तयार गरिएको ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र–२०८३’ आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादका बिच औपचारिक रूपमा जारी गरिएको छ।
उक्त श्वेतपत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदाप्रेमी भीम विक्रम थापाले सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य आषिश गजुरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक सामरिक पहिचान र पर्या-पर्यटनलाई राष्ट्रिय नीति एवं बजेटमा समेट्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
श्वेतपत्रमा सिमेन्टकरण र व्यापारीकरणमा पूर्ण रोक लगाउन माग गरिएको छ। सिन्धुलीगढी, हरिहरपुरगढी र ऐतिहासिक ढुङ्गेबजार क्षेत्रमा पुरातात्विक मर्यादा विपरीत भइरहेका आधुनिक भौतिक निर्माण र जथाभाबी सिमेन्टको प्रयोगलाई तत्काल रोक्नुपर्ने विषय त्यसमा समेटिएको छ। पुराना बङ्कर, कोतघर, मन्दिर तथा रैथाने काठे बार्दलीहरूलाई ‘जस्ताको तस्तै’ संरक्षण गर्ने प्रतिबद्धता श्वेतपत्रमा जनाइएको छ।
त्यस्तै, इतिहासविद्हरूको तथ्यका आधारमा सिन्धुलीगढी युद्धको वास्तविक विजय तिथिलाई नै आधिकारिक रूपमा स्थापित गरी आगामी वर्षदेखि भव्य रूपमा ‘विजय दिवस’ मनाउन पालिकाहरूले नीतिगत निर्णय गर्नुपर्ने सङ्कल्प पारित गरिएको छ। श्वेतपत्रमा सुनकोशीमा अवैध क्रसर दोहन रोकी साहसिक राफ्टिङ र माझी समुदायको डुङ्गा सफारी सञ्चालन गर्ने, मरिणमा दनुवार हस्तकलाका लागि ‘डिजिटल क्राफ्टिङ ल्याब’ स्थापना गर्ने, चुरेमा चरा अवलोकन ट्रेल बनाउने र बीपी राजमार्गमा बिचौलिया(मुक्त ‘स्मार्ट हाटबजार’ सञ्चालन गर्ने विषयलाई बजेटमा समेट्न पालिकाहरूलाई आग्रह गरिएको छ।
कार्यक्रममा होटल एसोसिएसन सिन्धुलीका अध्यक्ष चन्द्र देश श्रेष्ठले जिल्लाका सम्पदाहरूको संरक्षण गर्दै दिगो पर्यटन विकास र ग्रीन हस्पिटालिटीका लागि वर्षैभरी सञ्चालन गरिने विशेष पर्यटन प्रवर्द्धन कार्यतालिका बनाएर काम अघि बढाउने घोषणा गरे।
सिन्धुलीको प्रवर्द्धनका लागि वर्षैभरी विभिन्न कार्यक्रम गर्ने तालिका अघि सारिएको छ। जस अनुसार असोज १५ मा सिन्धुलीगढी विजय उत्सवमा ‘ग्रीन हस्पिटालिटी’ अभिमुखीकरण र परम्परागत तथा आदिवासी माझी र दनुवार खानाका परिकारहरूको देशव्यापी प्रवर्द्धन गरिनेछ।
मङ्सिर र पुसमा गोलन्जोर र फिक्कलका जुनार उत्पादक किसानहरूसँग सिधै साझेदारी गरी ‘जुनार बगैँचा भ्रमण’ प्याकेज सहजीकरण गरिनेछ। माघमा सिन्धुलीगढीका किल्लाहरूलाई आधार बनाएर ‘फोर्ट स्टेज राइड’ साइक्लिङ व्यवस्थापन गरिनेछ भने फागुनमा मरिण, हरिहरपुरगढी र सुनकोशी क्षेत्रका होमस्टे र होटलहरूमा तीन दिने विशेष आतिथ्य तालिम सञ्चालन गर्ने योजना छ। गर्मी हुने वैशाख र जेठमा फिक्कल र महाभारतका डाँडाहरूमा रिमोट कामदार आकर्षण गर्न ‘वर्क फ्रम नेचर’ प्याकेजको संस्थागत सुरुवात गर्ने योजना अघि सारिएको छ।
समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र होटल एसोसिएसन सिन्धुलीको संयुक्त आयोजनामा सम्पन्न यस ऐतिहासिक कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरू, योजना अधिकृतहरू, पर्यटन व्यवसायी, सम्पदा अभियन्ता र नागरिक समाजका प्रतिनिधिहरूको सघन ऐक्यबद्धता र सक्रिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस