काठमाडौं / संसदमा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक कुनै ठोस निष्कर्षमा पुग्न नसकी सकिएको छ । बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल भए पनि प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको मागमा सहमति जुट्न सकेन ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का सचेतक ऐन महरले संसदमा उठेका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ दिनुपर्ने आफूहरूको अडान रहेको बताए । तर सभापति लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएको उनले बताए । ‘हामीले प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने माग राख्यौं , तर आवश्यक परे परराष्ट्र मन्त्री वा आफूले नै जवाफ दिने, तर प्रधानमन्त्री तत्काल संसदमा नआउने भनियो, ’ महरले भने–‘त्यसपछि बैठक निष्कर्षविहीन रूपमा सकियो।’
बैठकमा सभापति लामिछानेको भारत भ्रमणको विषय पनि उठाइएको महरले जानकारी दिए। प्रधानमन्त्रीले संसदमा सीमा सम्बन्धी विषय उठाएको भोलिपल्टै तपाँइ भारत भ्रमणमा गएकोले प्रधानमन्त्रीले बोलेको तपाँइसँगको ‘टिउनीङ ’ संग मिलेको हो की होइन भनेर आफुहरुरुले जिज्ञासा राखिएको उनको भनाइ थियो ।
त्यसैगरी, बैठकमा एपीजी प्रतिवेदन सम्बन्धी विषयमा पनि छलफल भएको बताइएको छ । सभापति लामिछानेले विभिन्न विषयमा स्पष्ट पार्ने प्रयास गरे पनि विपक्षी दलहरूले अपेक्षा गरेजस्तो सन्तोषजनक जवाफ नपाएको महरले बताए । सर्वदलीय बैठकबाट तत्काल कुनै सहमति ननिस्किएपछि संसद्को गतिरोध अझै कायमै रहने संकेत देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ नदिएसम्म अवरोध हटाउन कठिन हुने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस