२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

मंगलवार , माघ २०, २०८२

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ ।

जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। जिल्लामा परेको दुई हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि एक हजार ७४२ जना निर्वाचन प्रहरी छनोट गरिएको खड्काले बताए। जिल्ला प्रहरी कार्यालयले माग गरेअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेपछि वैकल्पिक सूचीमा रहेकामध्ये २९० जनालाई स्याङ्जा पठाइएको खड्काले बताए ।

“हामीले सफल उम्मेदवारहरुलाई आइतबारदेखि तालिम दिन सुरु गरेका छौँ, आजसम्म लगातार तीन दिन अनुपस्थित भएकालाई सूचीबाट हटाएर वैकल्पिकलाई तालिम दिन्छौँ”, उनले भने “वैकल्पिकमा परेकामध्ये १०० जनाभन्दा बढीलाई हामीले जिल्लामा नै राखेका छौँ ।”

जिल्लामा गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा आवश्यक सङ्ख्याभन्दा थोरैको आवेदन परेपछि पुनः माघ १० र ११ गते पनि निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो । दोस्रोपटक म्याद थपिएपछि जिल्लामा आवश्यकताभन्दा बढी आवेदन परेको खड्काको भनाइ छ । जिल्लामा नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीबाट आवेदन माग गरिएको थियो ।

“जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिएर उत्तीर्ण भएका एक हजार ५४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तीर्ण भएका १९९ जना गरी एक हजार ७४२ जनालाई तालिम दिन सुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक खड्काले भने । सशस्त्र प्रहरीतर्फबाट छनोट भएका निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा तालिम दिइएको भन्दै उनले भने, “जिल्ला प्रहरी कार्यालयबाट छनोट भएका एक हजार ५४३ जनालाई जिल्लाका विभिन्न स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम प्रदान गर्दैछौँ ।”

छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनको तालिमपश्चात निर्वाचन प्रहरीका रूपमा निर्वाचन सुरक्षाका लागि खटाइने खड्काले बताए। आसन्न निर्वाचनमा जिल्लाको ११४ मतदानस्थलका ३११ मतदान केन्द्रबाट मतदान हुँदैछ । जिल्लामा जम्मा दुई लाख ६८ हजार ५२६ मतदाता रहेकामा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट