मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकास र समृद्धिको नेतृत्व गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिका–२, मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले पछिल्ला वर्षहरूमा यस क्षेत्रको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको बताए। २०७९ सालको निर्वाचनका क्रममा आफूले व्यक्त गरेका प्रमुख प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको भन्दै उनले सन्तोष व्यक्त गरे।

“मैले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थिएँ। हाल ५० जना विद्यार्थी भर्ना भई अध्ययन सुरु गरिसकेका छन्,” उनले भने। मेडिकल कलेजको विस्तारसँगै मृगौलिया र आसपासका क्षेत्रको आर्थिक तथा भौतिक विकासमा सकारात्मक प्रभाव पर्ने कोइरालाको विश्वास छ।

सभामा बोल्दै उनले बृन्दावन गौशाला, तेलिया तथा गछिया खोलामा गरिएको तटबन्धन, सडक निर्माण, सार्वजनिक भवन, मठ–मन्दिर तथा धार्मिक स्थलको संरक्षण, शैक्षिक संस्थाको स्तरोन्नति र मृगौलिया खानेपानी आयोजनाको विस्तारजस्ता कामहरू आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको उल्लेख गरे।

स्थानीय किसानका समस्या समाधानतर्फ केन्द्रित हुँदै कोइरालाले भरपर्दो सिँचाइ व्यवस्थाको प्रतिवद्धता जनाए। मृगौलियामा बिग्रिएको डिप ट्युवेलप्रति ध्यानाकर्षण गराउँदै उनले भने, “एउटा डिप ट्युवेल बिग्रिएको छ, निर्वाचन सम्पन्न भएलगत्तै नयाँ डिप ट्युवेल जडान गरिनेछ।”

चुनावी अभियानलाई तीव्र बनाउँदै कोइरालाले सुन्दरहरैँचालाई थप विकसित र नमुना सहरका रूपमा उभ्याउने लक्ष्य दोहोर्याए। स्थानीय मतदातासँग अपिल गर्दै उनले भने, “सुन्दरहरैँचालाई अझ सुन्दर बनाउने जिम्मा मलाई दिनुस्, म यस क्षेत्रको मुहार परिवर्तन गरेर देखाउनेछु।”
प्रतिक्रिया दिनुहोस