२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

महेन्द्र मोरङ क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा निरन्तर लागि परेको छु, अझै धेरै काम गर्न बाँकी छ : शेखर कोइराला

बिहिवार , फाल्गुण ७, २०८२

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं- ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्।

विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५ करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताए।

कार्यक्रममा बोल्दै कोइरालाले भने, “मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएर बनाएको हुँ।” उनले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा आफू निरन्तर लागि परेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए।

“मैले अध्ययन गरेका बेला जस्तो मोरङ कलेज अहिले छैन। समयअनुसार परिवर्तन र विकास आवश्यक छ,” उनले भने, “यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पूर्वाधार, प्रयोगशाला र स्रोत–साधन विस्तार गर्नुपर्ने अवस्था छ।”

उम्मेदवार कोइरालाले यसपटकको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्‍याए। वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने बताए।

“केसलिया खोलाले यहाँका बासिन्दालाई वर्षेनी दुःख दिँदै आएको छ,” उनले भने, “सुदृढ तटबन्धन निर्माण गरेर विराटनगरलाई डुवानमुक्त बनाउने मेरो स्पष्ट योजना छ।”

उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्र दिगो विकास सम्भव छ। विराटनगर–१२ ठूलो र सम्भावनायुक्त वडा भएकाले सडक, पुल–पुलेसा, ढल निकास तथा अन्य पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनले बताए।

कोइरालाले विगतमा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “विकासका काम एक्लैले सम्भव हुँदैनन्। वडा, नगर, प्रदेश र संघ सबैको सहकार्य आवश्यक हुन्छ। त्यसका लागि राजनीतिक स्थिरता र सक्षम नेतृत्व चाहिन्छ।”

यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएको छ। सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको जनाएको छ।

चुनावी माहोल तातेसँगै विराटनगर–१२ मा विकास, पूर्वाधार र डुवान नियन्त्रण मुख्य एजेन्डाका रूपमा उभिएका छन्। कोइरालाको विज्ञान भवन निर्माण दाबी र डुवानमुक्त नगर बनाउने प्रतिबद्धताले स्थानीय राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट