काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार कबिर शर्माले महिलाको सम्मान र नेतृत्व बिना समृद्धि सम्भव नहुने बताएका छन्।
काठमाडौँ–२ मा आयोजित बृहत महिला भेलापछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महिलाको निर्णायक भूमिका बिना दिगो विकास सम्भव नहुने धारणा राखेका हुन्।

शर्माले घर चलाउने महिलासँगै देश चलाउने क्षमता रहेको उल्लेख गर्दै महिलाभित्र रहेको साहस, सहनशीलता र नेतृत्व क्षमता नै समाजको वास्तविक शक्ति भएको बताएका छन्। भेलामा महिलाहरूले देखाएको विश्वास र समर्थनले आफूलाई थप जिम्मेवारीको अनुभूति गराएको उनको भनाइ छ।
उनले नीति निर्माण तहमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न हरसम्भव पहल गर्ने प्रतिबद्धता जनाउँदै सबैको सहकार्यमा काठमाडौँ–२ लाई नमुना क्षेत्र बनाइने बताए।
भेलामा क्षेत्रभरिबाट सहभागी महिला आमा तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस