काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन अघि नै राष्ट्रिय समस्याको समाधानका निम्ति सरकार र राजनीतिक दलहरूबीच समझदारी गर्न आग्रह गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
राप्रपाले निर्वाचन पूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गरेको हो ।
राप्रपाले भनेको छ, ‘वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नविन समझदारी कायम गर्ने बारे पटकपटक आवाज उठाउँदै आएको सर्वविदित छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिनुका साथै विभिन्न राजनीतिक दलहरूसँग यस सम्बन्धमा वार्ता र विचारविमर्श गरिरहेको छ। यथासम्भव निर्वाचन पूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग फेरि पनि हामी आग्रह गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस