काठमाडौं । दाङमा भएको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै दाङमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा सहभागी कार्यकर्ताबाट नेकपा (एमाले) को झण्डा जलाइएको घटनालाई अमर्यादित, उच्छृङ्खल र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कार्य भएको भन्दै कडा निन्दा गरेको छ ।
विज्ञप्तिमा राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि फरक विचार र आस्थामाथि आक्रमण गर्नु असहिष्णुता र अराजकताको संकेत भएको उल्लेख छ। यस्ता गतिविधिले लोकतान्त्रिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष असर पार्ने अनेरास्ववियुको ठहर छ।
अनेरास्ववियुले सम्बन्धित निकायलाई घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न जोडदार माग गरेको छ। साथै, सरकारले घटनालाई नजरअन्दाज गर्ने वा अराजक गतिविधिलाई प्रश्रय दिएको खण्डमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस