कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवार बनेका बिष्टले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा बिष्टले रास्वपा आफ्नो स्थापनाकालीन मूल्य, मान्यता र विधानभन्दा विपरीत बाटोमा हिँडेको आरोप लगाएका छन् । ूपार्टीले अवलम्बन गरेको पछिल्लो पद्धति, निर्णय प्रक्रिया र कार्यशैली सार्वजनिक प्रतिबद्धता भन्दा भिन्न देखिएकाले आत्मसम्मान र राजनीतिक मूल्य जोगाउन अलग हुने निर्णय गरेको हुँ, बिष्टले भनेका छन् ।
उनले संगठनमा समर्पित कार्यकर्ताको उचित मूल्याङ्कन नभएको र निर्णय प्रक्रियामा पारदर्शिता हराउँदै गएको दाबी समेत गरेका छन् । बिष्ट २०७९ को निर्वाचनमा ३ हजार ४०५ मत प्राप्त गरी सुदूरपश्चिम प्रदेशमै रास्वपाबाट दोस्रो बढी मत ल्याउने उम्मेदवार थिए ।
यस पटकको उपनिर्वाचनमा पनि कैलाली–५ बाट उम्मेदवारको आकाङ्क्षी रहेका बिष्टलाई पन्छाएर रास्वपाले आनन्द बहादुर चन्दलाई आधिकारिक उम्मेदवार बनाएको थियो । पार्टीको उक्त निर्णयप्रति रुष्ट बनेका बिष्टले शुक्रबार स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराएका छन् ।
रास्वपाको आधार स्तम्भ मानिने संस्थापक नेताले नै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएपछि कैलालीमा रास्वपाको चुनावी गणितमा असर पर्न सक्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस