२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौँ–१ मा प्रवल थापा, कांग्रेसभित्रको पुस्ता हस्तान्तरणको नयाँ अध्याय

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौँ । राष्ट्रिय राजनीतिमा प्रवल थापा नयाँ नाम हो । तर, काठमाडौं क्षेत्र नम्बर १ का जनताका लागि भने पूर्व परिचित नाम हो । लामो समयदेखि नेपाली कांग्रेस विजयी हुँदै आएको सो क्षेत्रमा यसपटक कांग्रेसका तर्फबाट थापाले उम्मेदवारी दिएका छन् ।

४२ वर्षीय थापा वैदेशिक अध्ययन र अनुभव बोकेर स्वदेशमै केही गरौं भन्ने जोश र भावना बोकेर फर्किएका युवा हुन् । काठमाडौँ क्षेत्र नम्बर १ लाई आफ्नो कार्यस्थल बनाएर राजनीति, समाजसेवा र व्यवसाय गर्दै आएका थापा यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । झण्डै दुई दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थापाको उम्मेदवारी कांग्रेसभित्रको पुस्ता हस्तान्तरणको नयाँ अध्याय हो ।

साथै जेनजी आन्दोलनको भावना र जनअपेक्षा बुझेका थापाले आफू सांसदमा निर्वाचित भएपछि सो भावनालाई सम्बोधन हुने गरी कार्ययोजना बनाएका छन् ।

“प्रकाशमान सिंह दाईले विगतमा यस क्षेत्रमा पुर्याउनु भएको योगदान निकै ठूलो छ, उहाँको योगदानलाई सम्मान गर्दै उहाँको योजनालाई निरन्तरता र बाँकी रहेका कामलाई पूरा गर्ने दायित्व मेरो हो”, उनले भने । पार्टीका अगुवा कार्यकर्ता तथा जनतासँग सुझाव संकललन गरिरहेका थापाले जनआकांक्षा अनुसार योजना बनाएर आफ्नो क्षेत्रको आर्थिक, शैक्षिक एवम् भौतिक विकास गर्ने बताए ।

थापा भन्छन्, ’यहाँका नागरिकसँग अन्य मुलुकका अन्य क्षेत्रका नागरिकका जस्तै माग छैनन् । यो राजधानी काठमाडौँको मुख्य क्षेत्र हो । प्रमुख प्रशासनिक भवन सिंहदरबारदेखि, संसद् भवनलगायतका महत्वपूर्ण संरचना यही छन् । मुलुकभरका नागरिकका असन्तुष्टि पोख्दै सरकारलाई झक्झकाउने ठाउँ पनि यही हो । जेनजी आन्दोलनको विऊ रोपिएको पनि यहीँ हो, मुलुक परिवर्तनको उद्घोष भएको यो ठाउँका नागरिकले आफूलाई सांसद्का रुपमा नभइ राष्ट्रिय नेताका रुपमा देख्न चाहनुभएको छ ।’

“नागरिकसँगको अन्तरक्रियामा उहाँहरुले विकास निर्माणका कुराहरु गर्नुहुन्न, उहाँहरु सुरक्षित व्यावसायिक वातावरण बनाउन आग्रह गर्नुुहुन्छ त्यसबाहेक तिमी राष्ट्रिय मुद्दामा खरो विचार राख्ने गरी सांसद् बन्नुपर्छ, राष्ट्रिय नेता बन्नुपर्छ भन्नुहुन्छ”, थापाले सुनाए ।

उनको क्षेत्रमा लामो समयदेखि नसुल्झिएको एउटा समस्या सुकुम्बासी व्यवस्थापन हो । उनी यो समस्यालाई वैज्ञानिक र न्यायीक ढंगबाट समाधान गर्नुपर्ने बताउँछन् । यसका लागि आफूले केही तथ्य र तथ्यांक संकलन गरेको र यसको दिगो समाधान हुनेगरी समाधान गर्ने प्रतिबद्धता समेत उनले गरे ।

यो क्षेत्रलाई वर्षौँदेखि भोग्दै र बुझ्दै आएका थापाले आफू नै यस क्षेत्रका जनताको वास्तविक जनप्रतिनिधि रहेको दावी गरे ।

उनले राजनीतिको यात्रा प्रकाशमान सिंहसँगै सिकेका हुन् । विसं २०६४, विसं २०७०, विसं २०७४ र विसं २०७९ मा भएको निर्वाचनमा सिंहलाई जिताउन भूमिका खेलेका थापाले अहिले भने सिंहकै आशिर्वाद लिएर त्यही लिगेसी अगाडि बढाउने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छन् ।

थापाको नेपाली कांंग्रेससँगको आबद्धता सानैदेखि हो । यद्यपि सदस्यता लिएको भने डेढ दशकभन्दा बढी भयो । राजनीतिमा विपी कोइरालाको सिद्धान्त र आदर्शबाट प्रभावित छन् ।

नेविसंघको राजनीतिमा जोडिएका थापा तरुण दल केन्द्रीय सदस्य हुँदै कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत हुन् । २०७९ मा उनी बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका समानुपातिक सांसदका उम्मेदवार समेत भए ।

थापागाउँमै हस्पिटालिटी व्यवसायमा संलग्न उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । विशेष गरी कोरोना महामारी तथा महाभूकम्पमा उनले सक्रिय रुपमा उद्धार तथा राहत वितरणका साथै स्वास्थ्य सेवा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट