वालिङ (स्याङ्जा) । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा स्वयंसेवक परिचालन गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडा रहेका छन् । यसअघिका निर्वाचनमा हुँदै आएको बदर मत घटाउन स्वयंसेवकमार्फत गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले बदर मत घटाउन ९७ वटै वडामा एक/एक जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । “जिल्लाका ९७ वटै वडामा मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरी एक/एक जना स्वयंसेवक परिचालन गरेका छौँ,” उनले भने, “तोकिएका स्वयंसेवकले आ–आफ्नो वडाका टोल, समूह अथवा घरघरमै पुगेर मतदान गर्ने तरिकाबारे जानकारी दिनेछन् ।”
तोकिएका स्वयंसेवकले जिम्मेवारीअनुरुप कार्य गरे–नगरेको अनुगमनका लागि प्रत्येक स्थानीय तहमा एक/एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षालाई प्रभावकारी बनाउने काम भइरहेको कार्यालयले जनाएको छ ।
जिल्लामा यसअघिका निर्वाचनमा औसतमा चार प्रतिशत मत बदर हुने गरेको थियो । कार्यालय प्रमुख थापाले भने, “निर्वाचनमा चार प्रतिशतसम्म मत बदर हुनु भनेको ठूलो सङ्ख्या हो । त्यसैले गाउँ तथा टोलटोलमा नमूना मतपत्र, स्वस्तिक छापसहित खटिएका स्वयंसेवकले मतको सदुपयोग तथा सदर मतका लागि सहजीकरण गर्नेछन् । आशा गरौँ यसपटक बदर मत घट्ने छ ।”
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा करिब दुई हजार कर्मचारी तथा ९०० स्वयंसेवक खटिने छन् । यस्तै, जिल्लामा एक हजार ९४७ सुरक्षाकर्मी खटिने छन् ।
जिल्लामा एक सय ९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन् । पाँच सयभन्दा धेरै मतदाता भएका केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयंसेवक रहनेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस