मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टीमा स्वागत गरेका हुन् ।
रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेकै बेला पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । पराजुलीसहित रास्वपा मकवानपुरका केही नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए ।
सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्दै पराजुलीले रास्वपाको नेतृत्व शैलीमाथि प्रश्न उठाएका छन् । उनले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाएका छन् ।
मनहरी गाउँपालिका घर भएका पराजुली विसं २०८१ मंसिर ६ गते सम्पन्न रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा जिल्ला सभापति चयन भएका थिए । उनी यसअघि नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा नेतृत्वमा पुगेका थिए ।
पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए । उनले १२ हजार ३९ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका महेश बर्तौला विजयी भएका थिए भने नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडा दोस्रो भएका थिए ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएपछि पराजुली असन्तुष्ट बनेका थिए । पार्टीले मनहरी गाउँपालिका घर भएका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएपछि उनी कांग्रेसका नेताहरूसँग सम्पर्कमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस