काठमाडौं । नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्न प्रसाद पौडेलले उद्योग नीतिलाई सरलीकृत गरेर यहाँका उद्योगीहरुलाई प्रोत्साहन गर्दै विदेशी लगानी भित्र्याउनेतर्फ अबको सरकार लाग्नुपर्ने बताएका छन् ।
सुनौलो नेपालको निर्वाचन विशेष बहस 'अब तपाईं किन ?' मा बोल्दै नेता पौडेलले पहिलेकै ढंगले नयाँ नेपाल बन्ने अवस्था नरहेको भन्दै सबै क्षेत्रलाई सुधार गर्नुपर्ने बताए ।
उनले भने, ‘छुट्टै उद्योग नीति बनाउनुपर्ने अहिलेको आवश्यकता छ । उद्योग नीतिलाई सरलीकृत गरेर यहाँका उद्योगीहरुलाई प्रोत्साहन गर्ने र विदेशी लगानी भित्र्याउनेतर्फ लाग्नुपर्छ । पहिलेकै ढंगले अबको नयाँ नेपाल बन्ने अवस्था छैन । सबै क्षेत्रलाई सुधार गर्नुपर्ने अवस्था छ । अब निर्वाचनपछि बन्ने कांग्रेस सरकारले हरेक वर्षको खाका बनाएर अगाडि बढ्नुपर्छ ।’
स्वास्थ्य, पर्यटनलगायतको व्यवसाय संलग्न रहँदै आएका पौडेललाई अब तपाईं किन भनेर गरिएको प्रश्नमा भन्छन्, ‘म एक व्यवसायी र समाजसेवी व्यक्ति हुँ । समाजमा बसेर पनि सेवा त गर्न सकिन्छ तर राजनीतिमार्फत अब ५ वर्ष जनताको सेवा गर्छु भन्ने उद्धेश्यले मैले उम्मेदवारी दिएको हुँ ।’
उनले प्रत्यक्ष रुपमा पाँच हजार भन्दा बढी र अप्रत्यक्ष रुपमा झण्डै एकलाखलाई रोजगारी दिँदै आएको बताए । देशमा उद्योगधन्दा सञ्चालन गर्न थुप्रै समस्याहरु रहेका र एउटा उद्योग खोल्नु पर्यो भने दुई वर्षसम्म धाउनुपर्ने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेको उनले बताए ।
नेपाल भित्रकै उद्योगीहरुले लगानी गर्न चाहेको तर सुरक्षित वातावरण नबनेको बताउँदै उनले अब बन्ने सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताए । उनले भने, ‘जेनजी आन्दोलनको क्रममा जे जस्तो भयो, त्यो अब हुनु हुँदैन भन्ने मेरो मान्यता हो । अब बन्ने सरकारले देश अगाडि बढ्नका लागि शान्ति सुरक्षा कायम गर्नुपर्यो । उद्योगीहरुलाई प्रोत्साहन गर्दै लगानीको वातावरण सिर्जना गर्नुपर्यो ।’
प्रतिक्रिया दिनुहोस