मोरङ । मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । बुधबार बिहान पत्रकार सम्मेलन गरि घिमिरेले फागुन १३ गतेसम्म क्षेत्रका २३ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिएका हुन् ।

उम्मेदवार घिमिरेका अनुसार अभियानका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा पुगिएको छ। घरदैलोका दौरान मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा सुझाव संकलन गरिएको उनले बताए ।

अभियानलाई व्यवस्थित बनाउन २३ वटै वडामा परिचालन समिति गठन गर्नुका साथै क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरमार्फत कार्यकर्तालाई टोल–टोलमा परिचालन गरिएको जनाइएको छ। करिब ३ हजार सक्रिय कार्यकर्ता अभियानमा खटिएको घिमिरेको दाबी छ ।

वडा स्तरमा आयोजित सभाहरू तथा घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको र मतदाताबाट न्यानो स्वागत तथा समर्थन प्राप्त भएको घिमिरेले बताए ।पहिलो चरणको अभियान सम्पन्न भएसँगै अब दोस्रो चरण अन्तर्गत टोलस्तरीय भेला, अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने घिमिरेले जानकारी दिए ।

अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने वडा कमिटी, परिचालन समितिका सदस्य तथा मोरङ–४ का मतदाताप्रति उम्मेदवार घिमिरेले धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस