काठमाडौं । राजधानीकै मध्यभाग भए पनि त्यतिखेरसम्म शंखमुल, बुद्धनगर वरिपरी खेत नै थियो । मध्य बानेश्वरमा केही बाक्लो बस्ती भए पनि थापागाउँ वास्तवमै गाउँ नै थियो । त्यही थापागाउँको साँघुरो गल्लीमा २०४० भदौ १२ गते जन्मिएको एउटा बालकले सायद कल्पनासम्म गरेको थिएन, उसको जीवनयात्रा कठोर र नियतिको परीक्षाले भरिएको हुनेछ ।
झट्ट हेर्दा ‘थापा काजी’को परिवारमा जन्मिएको त्यो बालकको जीवन नै एउटा दुःखान्त कथाबाट शुरू हुन्छ । जसले बुबाको अनुहार चिन्ने होइन ‘बा’ शब्द उच्चारण गर्न नसिक्दै उसको शिरबाट बुबाको हात हट्यो । अझ उनकी बहिनीको मुखमा त अन्नसमेत परेको थिइन् ।
२१ वर्षको कलकलाउँदो वैंशमै सिउँदो पुछिएकी आमाले २० महिनाको छोरा र ४ महिनाकी छोरीलाई त्यति बेलाको समाजमा हुर्काउन, पढाउन कस्तो संघर्ष गर्नुपर्यो होला ? त्यो भोग्नेलाई नै थाहा हुन्छ ।
कोक्रामै टुहुरो भई बाँच्नका लागि संघर्ष गरेका थापा यतिबेला देशको अस्तित्व जोगाउन, लोकतन्त्रको रक्षा र आफूजस्तै युवा विद्यार्थीको स्वदेशमै भरोसा फर्काउने लक्ष्यका साथ चुनावी संघर्षमा छन् ।
संघर्षको चट्टान फोरेर सम्भावनाको ढोका खोल्न उक्लिएका प्रवल यतिबेला काठमाडौंको राजनीतिक हावाको दिशालाई बदल्न प्रयासरत छन् । उनका बाबु स्वर्गीय प्रदीप थापा क्षेत्री २०३६ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा थिए, जसका साथीहरू नेपाली कांग्रेसका नेता भए, केही त मन्त्री र सांसद बने । बाबुको अनुहार हेर्नसमेत नपाएका तर, प्रवलले आमाबाट सुनेका कथाले नै बाबुको छायाँ महसुस गरे । बुबाका साथीबाट उहाँको योगदान थाहा पाए । त्यसैको प्रभावले उनी बुबाकै पदचाप पछ्याउन पुगे ।
नियतिको प्रहार उनको जीवनमा पटक पटक भइरह्यो । ९ वर्षको हुँदा हजुरबुबाको साथ दैव चुँड्यो । घरको आकाश ढल्यो, १४ वर्षमा हजुरआमाको बिछोडले आमाछोरामाथि नै एक्लोपनको बोझ थपियो । ब्रतबन्ध नहुँदै उनी मात्र घरमा पुरुष सदस्य बाँकी रहे, घरमा धूप बत्ती गर्ने हातसमेत भएन । भारतमा अध्ययन गर्न गएका उनलाई परिवारले नेपाल फर्कायो । सानै उमेरमा जिम्मेवारीको पहाड बोकेर हिँड्नुपर्यो । यो एक्लोपनको पीडा हरेक युवाको हृदयलाई छुन्छ, जसले जीवनको कठोरता सिकाउँछ ।
४० वर्षअघिको नेपाली समाजमा एकल महिलाको जीवन चलचित्रका दृश्यहरू जस्तै थिए । प्रवल भन्छन्–‘आमाको आँसु लुकाएर हाँस्ने ओठले नै मलाई जीवन सिकायो । उहाँले दुःखका पहाडहरू चिरेर सन्तानको भविष्य उज्यालो बनाउन कुनै कसर बाँकी राख्नुभएन । बहिनीलाई चिकित्सक र मलाई उच्च शिक्षा दिलाउनुभयो ।’
प्रवलको जीवन दुःखका अध्यायहरूले भरिएका छन् । सानैमा परिवार सम्हाल्दै अगाडि बढेका उनले स्नातकपछि बैंकमा जागिर गरे । थप अध्ययनका लागि आमाकै सल्लाहमा अस्ट्रेलिया पुगे । तन विदेशमा भए पनि मन भने स्वदेशमै थियो । विदेशमा बस्ने मोहले उनलाई कहिल्यै छोएन । यद्यपि, अस्ट्रेलियामासमेत संघर्षले उनको साथ छोडेन । पत्रिका डेलिभरी, क्लिनर जस्ता साना काम गर्दै सेल्स म्यानेजर बन्दासमेत उनको ह्दयमा जन्मभूमिको याद मेटिएन । अध्ययन पूरा हुने बित्तिकै घर फर्किए ।
देशमै भविष्य खोज्न सकिन्छ भन्ने विकासका साथ अगाडि बढेका उनले अस्ट्रेलियामै उच्च शिक्षा हासिल गरेकी पत्नी आकृति थापालाई पनि नेपाल फर्काएर भविष्य खोज्न प्रोत्साहित गरेका छन् । स्वदेश फर्किएर करिब दुई दशकदेखि राजनीति, समाजसेवा र हस्पिटालिटी व्यवसायलाई सन्तुलित रूपमा बोकेका प्रवलको यो संघर्षले हरेक युवालाई भन्छ, समस्या भए पनि हात जोडेर बस्ने होइन, चिरेर अगाडि बढ्ने हो ।
प्रवलको राजनीतिमा प्रवेश आकस्मिक थिएन । त्यो उनको रगतमा बगेको थियो । बुवाको प्रजातन्त्र प्रतिको आस्था, निष्ठा र संघर्षका कथा आमाबाट सुन्दै हुर्किएका उनले बाल्यकालदेखि नै राजनीतिप्रति गहिरो चासो राखे ।
अध्ययनपछि उनले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिक यात्रा सुरु गरे र क्रमशः पार्टीको विभिन्न तहमा आफूलाई स्थापित गरे ।
नेविसंघ क्षेत्रीय प्रतिनिधि, नेविसंघ महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दल केन्द्रीय सदस्य, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय समिति तरुण विभाग सदस्य, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस महासमिति सदस्य, २०७९ मा प्रदेशसभा समानुपातिक उम्मेदवार र २०८२ मा काठमाडौं क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उनको राजनीतिक यात्राका चौतारी हुन् ।
पार्टी राजनीतिमा सक्रिय हुँदा उनले आफन्तबाट दबाब पनि व्यहोरे । तर, उनले आफ्नो निष्ठा र पार्टी प्रतिको इमानदारितामा कहिल्यै सम्झौता गरेनन् । उनको स्पष्ट मान्यता छ,‘लोकतन्त्रमा विचारको स्वतन्त्रता सबैलाई हुन्छ। मलाई मेरा आफन्तसँग जोडेर होइन, मेरो काम, मेरो क्रियाशीलता र मेरो नैतिकताका आधारमा मूल्यांकन गरिनुपर्छ ।’
राजनीतिसँगै प्रवल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । कोभिड–१९ महामारी र भूकम्पका बेला जनताका समस्यालाई सम्बोधन गर्न तन, मन सक्रिय भए । तल्ला तहमा लामो समयसम्म बसेर जन अपेक्षालाई गहिरोसँग नियालेका उनले अब सांसद भएर ती विषयलाई सम्बोधन गर्ने अठोटका साथ नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस