सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले मंगलबार सप्तरीमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
१५ वर्षअघि अमेरिकाको सुखसुविधा त्यागेर सप्तरी फर्किएको स्मरण गर्दै डा. राउतले यसपटकको निर्वाचनमार्फत जिल्लामा व्याप्त ‘जंगलराज’ अन्त्य गर्दै विकासको नयाँ युग सुरु गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नो पहिलो प्राथमिकता शान्ति सुव्यवस्था रहेको स्पष्ट पारे । विगतका दशकहरूमा सप्तरीमा देखिएको डर, त्रास, असुली, अपहरण र गुन्डागर्दीको अन्त्य गर्ने उद्घोष गर्दै आगजनी, लुटपाट तथा झुटा मुद्दा लगाउने प्रवृत्तिलाई अन्त्य गरिने बताए। सबै जातजाति र समुदायका लागि अमनचैन र सुरक्षित वातावरण निर्माण गर्नु आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ छ ।
विगत कार्यकाल साढे दुई वर्षमै सीमित भएकाले धेरै योजना कार्यान्वयनको चरणमै रोकिएको उल्लेख गर्दै डा. राउतले पुनः निर्वाचित भए अधूरा कामहरू पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । उनका प्रमुख योजनामा राजविराज बसपार्क सञ्चालन, गजेन्द्र नारायण सिंह अस्पतालको नयाँ भवन सञ्चालन, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउने तथा राजविराज–१३ स्थित मधेस कृषि विश्वविद्यालयको निर्माण सम्पन्न गर्ने रहेका छन् ।
यसका साथै अलपत्र परेको कन्या छात्रावास र कोल्ड स्टोर निर्माण कार्यलाई समेत छिट्टै सम्पन्न गरिने उनले बताए ।
ग्रामीण महिलाहरूका लागि ग्राम उद्योग भवनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने, कृषिमा सिँचाइ र मलखादको समस्या समाधान गर्दै किसानको उपजको उचित मूल्य सुनिश्चित गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस