गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखामा आयोजित चुनावी सभामा बोल्दै सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिलेदेखि नै जिउ कामेको बताएका छन् ।
उनले भने, ‘तर हामी सुधन गुरुङलाई यसपटक सदन लिएरै जान्छौँ।' लामिछानेले मतदातालाई पाँच वर्षे स्थायी सरकारको पक्षमा भोट माग्दै भ्रष्टाचारमुक्त शासन र सुशासनको नयाँ युगको वचन दिएका छन्।
उनले थपे, 'कहिलेकाहीँ सुन्नमा आउँछ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।'
सभापति लामिछानेले मतदातालाई धर्म, जात, समुदाय र सम्प्रदायको नाममा राजनीतिक खेलविरुद्ध सचेत रहन आग्रह गरे। लामिछानेले आगामी फागुन २१ गते हुने मतदानमा गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कविन्द्र बुर्लाकोटीलाई जिताउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस