शुक्रवार , फाल्गुण १५, २०८२
Shares
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टी सभापति गगनकुमार थापालाई निर्वाचनमा हराउन षड्यन्त्र गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।
थपलियाले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
हालै रातोपाटीमा प्रकाशित समाचारमा आफूलाई विभिन्न राजनीतिक गतिविधिमा संलग्न रहेको तथा विशेषगरी सभापति थापालाई निर्वाचनमा हराउन षड्यन्त्रमा भूमिका खेलेको आरोप लगाइएको उल्लेख गर्दै उनले ती सबै आरोप “पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित” रहेको स्पष्ट विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “म एक जिम्मेवार नेताको स्वकीय सचिवको हैसियतमा कार्यरत व्यक्ति हुँ। संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्वप्रतिको निष्ठामा आधारित भएर काम गर्दै आएको छु। आफ्नो नेता, संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने कुनै गतिविधिमा संलग्न हुनु त परको कुरा, त्यस्तो सोच राख्नु समेत मेरो नैतिकता र पेशागत धर्मविपरीत छ।”
समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग कुनै संवाद वा भेटघाट नभएको पनि उनले स्पष्ट पारेका छन्। तथाकथित नाम उल्लेख गरिएका व्यक्तिहरू को हुन् भन्नेबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।
थपलियाले निराधार र अपुष्ट समाचारले व्यक्तिगत प्रतिष्ठामात्र नभई समग्र संगठन र लोकतान्त्रिक अभ्यासमाथि नै आघात पुर्याउने बताएका छन् । संवेदनशील राजनीतिक परिस्थितिमा यस्ता भ्रमपूर्ण प्रचारले जनविश्वास कमजोर बनाउने र संगठनलाई अनावश्यक रूपमा बदनाम गर्ने कार्य हुने उनले चेतावनी दिएका छन् ।
यस विषयमा सम्बन्धित निकायसँग आवश्यक परामर्श भइरहेको जनाउँदै उनले आवश्यक परे प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने तथा आफ्नो प्रतिष्ठा र सत्यको रक्षा गर्न कानुनी उपचार खोज्ने स्पष्ट संकेत गरेका छन् ।
अन्त्यमा उनले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई अपुष्ट समाचारप्रति सचेत रहन, सत्य–तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न तथा अफवाहबाट प्रभावित नहुन आग्रह गरेका छन् ।
थपलियाले जारी गरेको विज्ञप्ती यस्तो छ :
हालै रातो पाटी अनलाइनमा प्रकाशित समाचारमा मेरो नाम जोडेर गरिएको आरोप प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा मलाई डा। शेखर कोईराला ज्यूको स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको, विशेष गरी पार्टी सभापति श्री गगनकुमार थापा ज्युलाई निर्वाचनमा हराउन षड्यन्त्रमा भूमिका खेलेको भन्ने आरोप लगाइएको छ। यस सम्बन्धमा म स्पष्ट रूपमा भन्न चाहन्छु कि उक्त समाचारमा उल्लेख गरिएका सम्पूर्ण आरोपहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित हुन् ।
म एक जिम्मेवार नेताको स्वकीय सचिवको रूपमा कार्यरत व्यक्तिले यस्ता कुराको कल्पना सम्म पनि गर्न सक्दिन । मेरो भूमिका सधैं संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्व प्रतिको निष्ठामा आधारित रहेको छ। आफ्नो नेता, संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधिमा संलग्न हुनु त परको कुरा, त्यस्तो सोच समेत राख्नु मेरो नैतिकता, पेशागत धर्म र व्यक्तिगत चरित्र विपरीत छ।
समाचारमा उल्लेख गरिएको तथाकथित नाम गरेका व्यक्ति को हुन् भन्नेबारे मलाई कुनै जानकारी छैन। त्यस्तै उपेन्द्र कुशवाहाज्यू सँग कुनै संवाद भएको छैन। साथै, यसै समाचारमा नाम जोडिएको अमरेश सिंह ज्यूसँग पनि यस प्रकारको कुनै भेट, संवाद भएको छैन भन्ने कुरा म दृढतापूर्वक स्पष्ट गर्न चाहन्छु।
यस प्रकारका निराधार, अपुष्ट र भ्रामक समाचारले व्यक्तिगत प्रतिष्ठामा मात्र नभई समग्र संगठन, पार्टी र लोकतान्त्रिक अभ्यास माथि नै आघात पुर्याउने कार्य गर्दछ। राष्ट्र र लोकतन्त्र संवेदनशील चरणमा रहेको वर्तमान अवस्थामा यस्ता भ्रमपूर्ण प्रचारले जनविश्वास कमजोर बनाउने र संगठनलाई अनावश्यक रूपमा बदनाम गर्ने काम मात्र गर्दछ।
अतस् यस विषयलाई लिएर म सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक परामर्श गरिरहेको छु। आवश्यक परेमा प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने, साथै आफ्नो व्यक्तिगत प्रतिष्ठा र सत्यको रक्षा गर्न कानुनी उपचार खोज्न पनि म बाध्य हुने जानकारी गराउन चाहन्छु।
अन्त्यमा, सम्पूर्ण पार्टीका सबै तहका नेताहरु, शुभेच्छुक तथा आम जनसमुदायलाई यस्ता अपुष्ट र भ्रमपूर्ण समाचारप्रति सचेत रहन, सत्य र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न तथा अफवाहबाट प्रभावित नहुन हार्दिक अनुरोध गर्दछु। सत्य सधैं स्पष्ट हुन्छ, र सत्यको पक्षमा उभिनु नै हाम्रो साझा दायित्व हो।
दिनेशचन्द्र थपलिया
स्वकीय सचिव
डा. शेखर कोइरालाको सचिवालय
फागुन १५-२०८२
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस