काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङलाई हामीले 'अब तपाईं किन ?' भनेर प्रश्न गरेका छौँ । सुनौलो नेपालको निर्वाचन विशेष बहस 'अब तपाईं किन ?' को श्रृंखलामा यस पटक हामीले अध्यक्ष घिसिङलाई प्रश्न गरेका हौँ ।
रामेछापमा जन्मिएका कुलमानलाई काठमाडौंको क्षेत्र नम्बर ३ नै किन रोज्नुभयो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘भुगोलको हिसाबले म लामो समयदेखि यसै क्षेत्रमा बसोबास गर्दै आएको छु । यहाँको भुगोल, यहाँको समस्या म बुझ्छु । यहाँका मतदातासँग चिनजान, सहकार्य र एक किसिमको सम्बन्ध पहिले देखि नै स्थापित छ । पहुँचको हिसाबले पनि रामेछाप भन्दा काठमाडौं ३ नै उचित लागेर मैले यस क्षेत्र रोजेको हुँ । ’
अध्यक्ष घिसिङले संसदमा सशक्त प्रतिनिधित्व हुने गरी उनेपाको पक्षमा परिणाम आउन विश्वास पनि व्यक्त गरे । उज्यालो नेपाल पार्टी विशेष गरेर काठमाडौं ३ मा मात्र केन्द्रित भएको र अध्यक्षले मात्र जितेपनि ठूलो कुरा हो भन्छन् नि ? भन्ने हाम्रो जिज्ञासामा आउने परिणामले यो कुराको पुष्टि गर्ने उनी बताउँछन् । उनले भने, ‘यो सरकारको चाबी हाम्रो हातमा हुने गरेर र संसदमा सशक्त प्रतिनिधित्व हुने गरी उनेपाको पक्षमा परिणाम आउँछ ।’
उनेपाका उम्मेदवार घिसिङका अनुसार यस क्षेत्र भएर काठमाडौंका अन्य ठाउँमा खानोपानी जाने भएपनि यहाँ नै खानेपानीको ठूलो समस्या छ । यस क्षेत्रमा बागमती करिडोर खुलाउनु पर्ने, बागमतीलाई सफा गर्नुपर्ने र करिडोर क्षेत्रका कतिपय मुआब्जालगायतका समस्याहरु समाधान गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । कृषि योग्य जमिनलाई कसरी प्रयोग गर्ने, रोजगारी कसरी सिर्जना गर्ने जस्ता सम्पूर्ण कुरालाई केन्द्रमा राखेर प्रतिवद्धता पत्र ल्याएको उनको भनाइ छ ।
विभिन्न ठाउँमा विभिन्न पार्टीका उम्मेदवारहरुसँग प्रतिस्पर्धा हुने भएकाले यो नै पार्टी उनेपाका लागि थ्रेटको रुपमा रहेको भन्ने नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस