काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले नयाँ भनिएका पार्टीहरु बिकल्प हुन नसक्ने बताएका छन् ।
शनिबार नुवाकोट क्षेत्र नम्बर १ स्थित खरानीटारमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै महतले नयाँ पार्टीको मिसन भिजनको अत्तोपत्तो नरहेकाले उनीहरु बिकल्प हुन नसक्ने बताएका हुन् । लोकतन्त्रलाई संस्थागत गर्न र स्थीरता कायम गर्न कांग्रेस अत्याधिक संख्याको साथ संसदमा पुग्न जरुरी रहेको उनले बताए ।
नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका महतले पुराना अरू दुईटा पार्टीले पनि देशलाई निश्चित दिशामा लान नसक्ने स्पष्ट भइसकेकाले कांग्रेसलाई आउने निर्वाचनमा जिताउन जरुरी रहेको धारणा राखे ।
तितो पोखेर देशलाई बलियो बनाउन नसकिने भएकाले कम बोलेर आफ्नो राष्ट्रलाई जोगाउन, बलियो पार्न र मित्रराष्ट्रहरूबाट सहयोग सुनिश्चित गर्न जरुरी रहेको उनको भनाइ छ । महतले कांग्रेस निकै पुरानो पार्टी भएकाले बहस र विवाद हुनु स्वभाविक रहेको भन्दै समाधान पनि निकाल्ने तर्क गरे ।
उनले अहिले विशेष महाधिवेशनबाट एउटा नेतृत्व बनिसकेको अवस्थामा त्यसलाई नमान्ने भन्ने बहस पार्टीभित्र नरहेको बताए ।
उनले पार्टीभित्र रहेका छलफल, बहस मुद्दाहरूलाई टुङ्ग्याएर पार्टी एकत्रित ढंगले अघि बढ्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस