२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले सहकारी पीडितहरूलाई न्याय गर्छ : किरण किशोर घिमिरे

शनिवार , फाल्गुण १६, २०८२

घोराही । दाङ २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका किरण किशोर घिमिरेले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले सहकारी पीडितहरूप्रति न्याय गर्ने बताएका छन् ।

शनिवार नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १६ इकाई द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार घिमिरेले जनतालाई सुशासन दिने दाबी गर्नेहरूले नै मकै पोलेर सहकारीमा आफ्नो रकम बचत गरेका लगायत लाखौँ बचतकर्ताहरूको अर्बौंं रकम हिनामिना गरेको जनाए ।

उनले कांग्रेसले पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋण पत्र जारी गरी फिर्ता गर्ने वाचा गरेको जनाए । त्यस्तै उनले सहकारीको रकम ठगी गर्नेहरूको सम्पत्ति जफत गरी बचत फिर्ता गर्ने कानुनी सुनिश्चितता गरिने पनि जनाए ।

नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा सहकारीलाई निजी व्यवसायजस्तो चलाउने, स्वार्थ समूहले कब्जा गर्ने र सदस्यहरूको हितविरुद्ध निर्णय गर्ने प्रवृत्तिलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्ने जनाएको छ । कांग्रेसले सहकारीका सम्बन्धमा अध्ययन गर्न बनेका कार्यदल र संसदीय छानबिन समितिका प्रतिवेदनहरूलाई पूर्ण रूपमा कार्यान्वयन गरी पीडितलाई न्यायको प्रत्याभूति गराइने पनि उल्लेख गरेको छ ।

ल्याण्डफिल साइटको भ्रमण :

यसैबीच कांग्रेस उम्मेदवार घिमिरेले घोराही उपमहानगरपालिका करौती डाँडामा रहेको ल्याण्डफिल साइटको निरीक्षण गरेका छन् । घिमिरेसँगै नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीम प्रकाश खड्का, दाङ क्षेत्र नं. २ प्रदेश ‘क’ का सभापति प्रकाश श्रेष्ठ, दाङ क्षेत्र नं. २ प्रदेश ‘ख’ का सभापति अभियान बस्नेतले पनि ल्याण्डफिल साइटको अवलोकन गरेका थिए ।

उक्त अवसरमा स्थानीय बासिन्दाले फोहर मैला जथाभाबी फ्याँक्ने गर्दा दुर्गन्ध आएर बस्नै नसकिने स्थिति बनेको र सङ्क्रमण फैलने जोखिम उत्पन्न भएको जनाएका थिए । ल्याण्डफिल व्यवस्थापन समितिका सचिव अमर चौधरीले दुई ओटा बस्तीको बीचमा रहेको ल्याण्डफिल साइटले गर्दा स्थानीय जनतालाई अत्यन्तै सास्ती भएको भन्दै फोहर व्यवस्थापनका लागि वैकल्पिक स्थान खोज्न माग गरे ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष तारा बहादुर डिसीले ठेक्का प्रवृत्तिले समस्या बल्झिएको जनाए । उनले ल्याण्डफिल साइटको उचित व्यवस्थापनका लागि उपमहानगरमा पटक पटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो पनि गरे ।

उम्मेदवार घिमिरेले आफू निर्वाचित भएमा स्थानीय सरकार र सङ्घीय सरकारसँग समन्वय गरी ल्याण्डफिलसाइट समस्याको शीघ्र समाधानका लागि हर सम्भव पहल गर्ने प्रतिबद्धता जनाए । उनले संविधानले नै हरेक नेपालीको स्वास्थ्यको अधिकार प्रत्याभूत गरेकाले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नभएको प्रस्ट पारे ।

यसैगरी शनिवार नै उम्मेदवार घिमिरेले नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १० इकाई द्वारा आयोजित कार्यक्रममा जेनजी पुस्ताका नवयुवा सहित विभिन्न पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका ३० जना भन्दा बढीलाई पार्टी सदस्यता प्रदान गरेका थिए । उनले ‘बदल्यौँ कांग्रेस बदल्छौँ देश’ को नारा लिएर आएको कांग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताउँदै सस्तो लोकप्रियतावादीहरूको पछि नलाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट