गोरखा । नेपाली कांग्रेस गोरखाले गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम कुमार खत्रीविरुद्ध केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
जिल्ला कार्यसमिति गोरखाद्वारा जारी प्रेस विज्ञप्तिमा केही माध्यमबाट प्रकाशित “एस द हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु” शीर्षकको समाचार पूर्ण रूपमा असत्य, आधारहीन र भ्रमपूर्ण रहेको उल्लेख गरिएको छ।
राजधानीको ठमेलस्थित एस द हिमालयका सञ्चालक रहेका उनीबारे नक्कली उद्धार प्रकरणमा अनुसन्धान भइरहेको भन्दै प्रचार भएको थियो । तर, यसबारे केन्द्रीय अनुसन्धान ब्युरोले हालसम्म खत्रीसम्बन्धी कुनै पनि अनुसन्धान नभएको जानकारी प्राप्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा समेत उल्लेख छ ।
पार्टीले यस्ता सामग्री निर्वाचनको मुखमा नियोजित रूपमा उम्मेदवारको चरित्र हत्या गर्न तथा मतदातालाई प्रभावित पार्ने उद्देश्यले प्रकाशन गरिएको दाबी गरेको छ। विज्ञप्तिमा निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता विपरीत गतिविधि भएको भन्दै संलग्न पक्षविरुद्ध प्रचलित कानूनअनुसार कारबाही गर्न माग गरिएको छ।
साथै, गोरखा क्षेत्र नं. १ का मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै आधिकारिक उम्मेदवार प्रेम कुमार खत्रीलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन अपिल गरिएको छ।पार्टीले यस्ता भ्रामक समाचारप्रति सतर्क रहन सबै सरोकारवालालाई आह्वान गरेको छ।
उम्मेदवार खत्रीले स्पष्ट जनआधार र जित सुनिश्चित देखेपछि केही तत्वहरू सक्रिय भएर आफूविरुद्ध निराधार आरोपको खेल खेलिरहेको प्रतिक्रिया दिएका छन् । खत्री विगत डेढ दशकभन्दा बढी समयदेखि “राजनीति पेशा होइन, सेवा हो” भन्ने मूल मन्त्रका साथ विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस