काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालत ले आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि पेशी तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले आइतबार उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको थियो ।
यसअघि सर्वोच्च अदालतकै न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेश गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस