काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी अभियोगपत्र संशोधन गर्ने सरकारी निर्णयविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ।
सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। आज सोही इजलासमा वरिष्ठ अधिवक्ताहरूको बहसले निरन्तरता पाउनेछ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लगाइएका गम्भीर प्रकृतिका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणु का मुद्दाहरू हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। उनले लामिछानेलाई केवल सहकारी ठगीमा मात्र मुद्दा चलाउन आदेश दिएपछि यो कदमको चौतर्फी आलोचना र कानुनी चुनौती सुरु भएको हो।
महान्यायाधिवक्ताको उक्त विवादास्पद निर्णयले अभियुक्तलाई उन्मुक्ति दिन खोजेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्चले आज महान्यायाधिवक्ताको उक्त निर्देशनलाई सदर गर्ने वा बदर गर्ने भन्ने विषयमा महत्वपूर्ण आदेश दिन सक्ने सम्भावना छ। यदि अदालतले अभियोगपत्र संशोधन गर्ने निर्णयलाई रोकिदिएमा लामिछानेमाथि पुनः सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सक्रिय हुनेछ, जसले उनको राजनीतिक भविष्यमा ठूलो धक्का पुग्न सक्छ।
प्रतिक्रिया दिनुहोस