काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएका छन् ।
समाजिक सञ्जालमार्फत पोखरेलले अहिले नेपालमा देखिएको ‘बालेन लहर’ र १९८४ मा भारतमा देखिएको ‘राजीव लहर’ बीच तुलना गर्दै दृष्टान्त प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, सन १९८४ मा भारतीय आम चुनावमा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो, तर दीर्घकालीन रूपमा त्यो शक्ति कायम रहन सकेन ।
त्यसको विपरीत, तत्काल सीमित सिटमा विजयी भएको भाजपा क्रमशः सशक्त बन्दै गएर आज नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ ।
पोखरेलका अनुसार, चुनावी सफलता वा लहर मात्र स्थायी राजनीतिक उपलब्धि होइन। दीर्घकालीन सफलता पाउनको लागि जनअपेक्षा पूरा गर्ने क्षमता, संगठन सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति आवश्यक हुन्छ । उनले जित्ने र हार्ने दुबै पक्षले सिक्नुपर्ने महत्वपूर्ण शिक्षा हो ।
पोखरेलले आफ्नो स्टाटसमा मत दिने जनताको अपेक्षा र संगठनको कार्यदक्षता दुवैलाई चुनावी लहरभन्दा बढी महत्त्वपूर्ण बताउँदै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि रणनीतिक तयारी अपरिहार्य रहेको पनि औँल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस