काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । उक्त क्षेत्रमा उनलाई अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट हासिल गर्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ । कमजोर नतिजापछि थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने तयारी गरेका थिए । यद्यपि पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताइएको छ । बैठक शुक्रबारका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस