काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएपछि पार्टीभित्र र बाहिर विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन् । यसै सन्दर्भमा कांग्रेसका युवा नेता सचिन तिमल्सिनाले थापाको राजीनामाको विषयमा आफ्नो धारणा राख्दै यो हारको जिम्मेवार गगन थापा नभएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत गगन थापालाई सम्बोधन गर्दै यो हार दशकौँदेखिको पार्टी सञ्चालन पद्धतिको उपज भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो। जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध, मनपरी गठबन्धन, भ्रष्टाचारका आरोप र मूल्यहीन राजनीति नै मुख्य दोषी हुन् ।
उनले कांग्रेसले पछिल्लो समय जनताको भावना बुझ्न नसकेको र सिद्धान्तहीन गठबन्धन गर्दा परिणाम यस्तो आएको टिप्पणी गरेका छन् ।
उनले गगन थापाले उठाउँदै आएको सुधारका मुद्दाहरूको प्रशंसा गर्दै तत्कालीन नेतृत्वले समयमै ध्यान नदिएको गुनासो गरे । ूतत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए, विशेष अधिवेशनको नौबत नै आउने थिएन, उनले थपे, विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्यो तर जनतामाझ सुधारको सन्देश लैजाने समय हामीसँग पर्याप्त थिएन।
नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा खराब चुनावी नतिजा व्यहोरेर ३८ सिटमा खुम्चिएपछि थापाले राजीनामा दिएका हुन् । उनको यो कदमलाई तिमल्सिनाले उच्च राजनीतिक संस्कारको रूपमा व्याख्या गरेका छन् । उनले भनेका छन्, पार्टी सभापतिको हैसियतमा रहेकाले चुनावी पराजयको जिम्मेवारी लिँदै तपाईंले दिएको राजीनामाले तपाईंको राजनीतिक कद अझ झल्काउँछ।
कांग्रेसभित्र अहिले गगन थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा बहस भइरहँदा उनको यो धारणाले युवा पुस्ताको मनस्थितिलाई प्रतिनिधित्व गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस